२५ असोज २०८३ | साल्पादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा असोज ३ गते भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सिताराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, शेयरधनी सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।
सभामा संस्थाका कोषाध्यक्ष भानु भक्त श्रेष्ठले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा तथा सुपरिवेक्षण संयोजक चन्द्र कुमार श्रेष्ठले लेखा परीक्षण तथा सुपरिवेक्षण सम्बन्धी प्रतिवेदन पेस गर्नुभयो। प्रस्तुत प्रतिवेदनहरूमाथि व्यापक छलफल गरी सभाले सर्वसम्मतिले पारित गरेको छ।
सभाको मुख्य आकर्षणका रूपमा संस्थाको कार्यक्षेत्र विस्तार र विनियम संशोधन प्रस्ताव रहेको थियो। संस्थाको कार्यक्षेत्र अब उपत्यका भरि कायम गर्ने गरी पेस गरिएको विनियम संशोधन प्रस्तावलाई उपस्थित दुई-तिहाइभन्दा बढी शेयर सदस्यहरूले सर्वसम्मतिले पारित गरेका छन्।
सभालाई सम्बोधन गर्दै अध्यक्ष सिताराम श्रेष्ठले संस्थालाई थप पारदर्शी, सबल र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपत्यकाभरि कार्यक्षेत्र विस्तार भएसँगै सदस्यहरूलाई अझ सहज, सुरक्षित र उत्कृष्ट वित्तीय सेवा पुर्याउन संस्था प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा उपस्थित शेयरधनीहरूले संस्थाको प्रगति र कार्यक्षेत्र विस्तारको निर्णयप्रति खुसी व्यक्त गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।

